• किनमेलको कला

    मेरो एक साथी किनमेलमा असाध्यै पोख्त छ। उसलाई कुन सामान कहाँ राम्रो पाइन्छ भन्ने ठ्याक्कै थाहा हुन्छ। बत्ती र इलेक्ट्रिकल सामानका लागि भोटेबहाल, सुकुटी र ड्राइ फ्रुटका लागि असन, लुगाका लागि खिचापोखरी, जडिबुटीका लागि मंगलबजार, मिठाईको लागि तिछुगल्ली। 

    उसका मनपर्ने पसलहरू प्रायः काठमाडौंका पुराना बजारमै हुन्छन जहाँ ग्राहक पुस्तौं देखि सायद गुणस्तरकै कारण आइरहेका छन्।

    म भने ठीक उल्टो। घर र अफिसको बाटोमै भेटिने पसलबाट किनिहाल्छु। सुविधा नै मेरो पहिलो रोजाइ हो। मलाई लाग्छ काठमाडौंमा यति धेरै अप्सन छ कि चाहिएको सामानका लागि टाढासम्म धाउनै पर्दैन।

    तर उसलाई देखेर डाहा लाग्छ। उसले अझै पनि पुराना बजारको मूल्य र गुणस्तरमाथि विश्वास गर्छ जबकि म भने सजिलो बाटो रोजिरहन्छु।

    उसले कमाएको पैसाको महत्व र लाइफ जिउन जानेको छ।

  • असहज विचार

    यो सायद अनपपुलर अपिनियन हुन सक्छ।

    जब कुनै नेपाली मूलको व्यक्तिले विदेशमा ठूलो सफलता हासिल गर्छ, हामीले उसलाई लगभग तुरुन्तै “हाम्रो मान्छे” भनेर स्वीकार गर्छौ चाहे उसले विदेशी नागरिकता नै किन नलिएको होस्। विश्व मञ्चमा कम प्रभाव भएको हाम्रो जस्तो देशले यस्ता व्यक्तिहरू मार्फत “हामी पनि विश्वस्तरमा छौं” भन्ने अनुभूति गर्छ। उनीहरूलाई “हाम्रो मान्छे” स्वीकार गर्न कुनै जोखिम पनि हुँदैन किनभने उनीहरू यहाँको सामाजिक जटिलताको हिस्सा हुँदैनन्। उनीहरू समाचारका शीर्षक र इन्स्टाग्राम पोस्टहरूमा मात्र देखिन्छन्। जिल्ला प्रशासन कार्यालयको लाइनमा उभिएर राष्ट्रिय परिचयपत्र बनाउन आएका हुँदैनन्।

    तर देश भित्रै भने पहिचान र अपनत्वबारेका बहसहरू धेरै जटिल छन। हामी आफ्नै मान्छेहरूलाई रंग, अनुहारको बनौट र लवजको कारण विदेशी हो कि भनेर शंका गर्छौ।

  • आशाका साइरन

    हामी सडक प्रयोगकर्ताको रूपमा सिभिक सेन्सका लागि खासै परिचित छैनौं। ट्राफिक नियम पालना गर्ने बानीमा अझै धेरै सुधार गर्न बाँकी छ।

    एउटा कुरा भने हामीले कुनै नियम वा निर्देशन बिना नै सिकेका छौं। साइरन बज्ने बित्तिकै आपत्कालीन गाडीलाई बाटो दिने।

    मैले देखेको काठमाडौंका ग्वार्को, कोटेश्वर, जडीबुटी वा सातदोबाटो जस्ता धेरै जाम हुने चोकहरूमा पनि मानिसहरूले आफ्नो गाडी अलिकति भए पनि सारेर आपत्कालीन सवारीलाई बाटो बनाइ दिन्छन्। त्यहाँ प्रहरीले आदेश दिइरहनु पर्दैन। सबैले आफैं बुझ्छन्।

    सायद यसको कारण हाम्रो जीवन सँग आपतकाल धेरै नजिकबाट जोडिएको छ। बाढी, पहिरो, भूकम्प, डढेलो वा दुर्घटना, यी हाम्रो लागि समाचारका विषय मात्र होइनन्, धेरैले आफ्नै जीवनमा भोगेका वास्तविकता हुन्। देशका धेरै ठाउँमा आज पनि आपत पर्दा सबैभन्दा पहिले सरकार होइन, समुदाय नै उद्धारमा जुट्छ। छिमेकी, आफन्त र अपरिचित मानिसहरू नै पहिलो सहयोगी बन्छन्।

    त्यसैले साइरनको आवाज हामीका लागि एउटा गाडीको आवाज मात्र होइन। त्यो कसैको जीवन र मृत्यु बीचको दौड हो भन्ने हामी बुझ्छौं।

    हामी सँग धेरै कमी कमजोरीहरू छन् तर त्यो केही इन्च बाटो छोड्ने बानीले एउटा सुन्दर कुरा सम्झाइरहन्छ। अन्ततः हामी अझै पनि संकटमा परेकाको पीडा बुझ्ने समाज हौं। किनकि हामीलाई थाहा छ, एक दिन त्यो एम्बुलेन्स भित्र हाम्रो आफ्नै मान्छे पनि हुन सक्छ।

  • सिनेमाको सुगन्ध

    जब हामी सुरक्षा जाँच पार गरेर हलको लबीमा छिर्छौं, सिनेमाको अनुभव दिने एउटा परिचित बास्ना नाकमा आउँछ, पपकर्नको सुगन्ध। त्यो सुगन्ध आफैँमा सिनेमा हेर्ने अनुभवको एउटा अभिन्न हिस्सा बनेको हुन्छ। 

    नेपालमा सिनेमा हेर्ने अनुभवले परम्परागत हलहरूबाट अत्याधुनिक मल्टिप्लेक्स सम्मको यात्रा तय गरिसकेको छ। आरामदायी सिट, विशाल स्क्रीन, उत्कृष्ट साउण्ड इफेक्ट अनि व्यवस्थित टिकेटिङले सबै कुरा बदलिदिएको छ। यति धेरै परिवर्तनका बीच सिनेमा हेर्दा पपकर्नको ठाउँ भने आजसम्म उस्तै छ। आज अझ धेरै स्न्याकका विकल्पहरू छन् तर पपकर्न ताजा अनि हल्का हुन्छ, सजिलै बोक्न र खान सकिन्छ र फिल्म हेर्दा ध्यान पनि भंग गर्दैन (आफ्नो र अरुको पनि)।

    घरमै फिल्म हेर्न पपकर्न खाने क्रेभिङ्ग कहिले भएन। तर सिनेमा हलमा काखमा पपकर्नको बकेट नोबोकी फिल्म हेर्न खल्लो लाग्छ। स्वादका लागि मात्र होइन, अर्को दुई घण्टासम्म अँध्यारो कोठामा हातमा केही न केही समातिरहन मन लाग्ने रहेछ र त्यसका लागि पपकर्न जस्तो अर्को विकल्प मानौँ छैन।

    हामीलाई थाहा छ कि सिनेमा हलको पपकर्न निकै महँगो हुन्छ। प्रत्येक पटक “आज त किन्दिनँ” भनेर सोचिन्छ। तर त्यो बास्ना नाकमा पुग्नेबित्तिकै काउन्टरतिर नजर पुग्छ र केही क्षणमै हातमा पपकर्नको बकेट लिएर हलभित्र पसिरहेको हुन्छु। 

    केही परम्पराहरू आवश्यक भएकाले होइन अनुभवको हिस्सा बनेकाले जीवित रहन्छन्। सिनेमा प्रेमीहरूका लागि पपकर्न त्यस्तै एउटा परम्परा हो।

  • फोन किन्ने कसरत

    पोर्ट बिग्रिएर चार्ज नहुने अवस्थामा पुगेपछि नयाँ फोन लिने निर्णय लिएँ। यस पाली एक लाख सम्मको राम्रो क्यामेरा अनि अरू फीचर्स भएको फोन लिने भए। नयाँ ग्याजेट्स र प्रविधि बारे त्यति धेरै जानकारी नभएकोले सुरुमा नयाँ फोन किन्दा के-के हेर्ने गूगल गरेर शर्तलिस्ट तयार पारे। स्न्यापड्रागन् ८ जेन ठूलो नम्बर, डिडिआर ठूलो नम्बर, युएफएस ठूलो नम्बर, एमोलेड, टेलिफोटो जस्ता गाह्रो-गाह्रो शब्द याद गरे। आफूले आफैलाई एजुकेट गरें। दुई-चार वटा भिडियो पनि हेरें। फोनको मोडेलहरूको पनि लिस्ट बनाए। अनि फोनको मूल्य देखाउने वेबसाइट तिर गए।

    अचम्म, एक लाख रुपैयाँमा मैले याद गरेका प्राविधिक शब्द मिल्ने एउटै फोन फेला परेन। त्यसको लागि कम्तीमा अर्को ५० हजार खर्चिनू पर्ने रैछ। एक लाखमा त मात्र मिड-रेञ्ज भन्ने फोन आउने रैछ। मिड-रेञ्ज नामैले मध्यम वर्ग। कुनैमा क्यामेरा राम्रो भए अरू फीचर्स नराम्रो, शर्तलिस्टमा भएको धेरै कुरा टिक नहुने। मलाई लाग्थ्यो एक लाख भनेको थुप्रो पैसा हो।  आई वाज लिभिङ अन्डर अ रक।

    साथीहरूले सुझाए कि अनलाइन हेरेर हुन्न, अफलाइन बार्गेन गरेर किन्ने। कुरा सही हो। यही बहनामा फोन छोएर, चलाएर हेर्न पाइने। पसलमा टार्गेट पुर्याउनु पर्ने भएकोले थोरै बढी डिस्काउन्ट दिने रैछ। तैपनी चित्त बुझ्ने फोन मेरो पहुँच भन्दा बाहिर थियो। पसले बहिनीले नागरिकता दियो भने फोन किस्तामा पाइने अप्सन दिए। फूल क्यास दिने र भ्याट बिल नलिने भए थप एक्स्ट्रा डिस्काउन्ट को अप्सन पनि दिए। दिक्क लाग्यो, इरिटेट भए। एक लाख बजेट हुँदा पनि मेरो लागि राम्रो फोन बजारमा थिएन।  अनि फर्किए।

    घर छेउको मर्मत गर्ने ठाउँमा आफ्नो पुरानो फोन देखाए। पोर्ट फेर्न १२०० रुपैयाँ लाग्ने भयो। मलाई थाहा छ एकचोटी कुनै पार्ट फेरेपछि फोन टिक्दैन। तर म सँग अरू अप्सन छैन। जति टिक्छ, पुरानै फोन चलाउने।

  • युवा फेसन स्टेटमेन्ट

    ठूला प्रिन्ट भएका रंगीचंगी टी-सर्टहरू युवा अवस्थाको सबैभन्दा आकर्षक फेसन स्टेटमेन्ट हुन। यस्ता प्रिन्टले लगाउने व्यक्तिका बारेमा केही विशेष कुरा बताउँछ। युवा अवस्थामा यस्ता टी-सर्टहरू आफ्नो रुचि कुनै शब्द नबोली अरू सामु व्यक्त गर्ने सबैभन्दा छिटो माध्यम मध्ये एक हुन। यस्ता लुगा लगाउनुको अर्थ मानिसहरूले तपाईंलाई देखून्, भीडबाट फरक ठानून् र तपाईंलाई चाखलाग्दो व्यक्तिका रूपमा हेरून् भन्ने नै हुन्छ।

    चालीसको दशकमा पुग्दा जीवनमा “लाउड” फेसन र ट्रेन्डहरू देखिसकेका धेरै मानिसहरू स्वाभाविक रूपमा सरलता अनि सादापन तर्फ आकर्षित हुन थाल्छन्। यो समय आफूले लगाएको कपडाले आफ्नो व्यक्तित्वको कुनै सन्देश दिन छोडेर लुगा केवल लुगा मात्र बन्छ। सादा टी-सर्ट जुनसुकै लुगासँग सजिलै मिल्छ, कहिल्यै फेसन आउट हुँदैन र आफैलाई प्रमाणित गर्ने प्रयास गरिरहेको जस्तो पनि देखिँदैन। जब नौलोपन खोज्ने समय अनि ऊर्जा कम हुन थाल्छ भरपर्दो र सरल विकल्प रोज्दा एउटा दुबिधा कम गर्न सकिन्छ।

    सायद युवा अवस्था भनेको आफू को हुँ भन्ने कुरा संसारलाई सुनाउने समय हो जबकि उमेरसँगै हामी यति सहज बन्छौं कि अरूहरूले हामीलाई आफैँ चिन्न दिऊँ भन्ने सोच आउँछ।  तर अझै पनि कुनै रंगीचंगी प्रिन्ट भएको टी-सर्ट कसैले लाएको देख्दा एक समय त्यसलाई अत्यन्तै मन पराउने मेरो युवा स्वरूप सम्झना आउँछ।

  • स्पेनलाई बधाई

    स्पेन फुटबल टोलीलाई हार्दिक बधाई। उनीहरू यस विश्वकप भरकै उत्कृष्ट टोली र उपाधिका पूर्ण हकदार थिए। उनीहरूले फाइनल खेलमा प्रतिद्वन्द्वीलाई सुरुदेखि अन्त्यसम्म नियन्त्रण कायम राखे। सेमिफाइनलमा पनि प्रतियोगिता भर उपाधिको प्रमुख दाबेदार मानिएको फ्रान्स विरुद्ध स्पष्ट रूपमा हाबी भएका थिए।

    रोड्री, ओल्मो, रुईज, कुबारसि अनि यमालका नाम लिन चाहेँ। रोड्री त यस विश्वकप कै उत्कृष्ट खेलाडी घोषित भए।

    सुपरस्टार खेलाडीहरूले कहिलेकाहीँ निर्णायक क्षणमा खेलको दिशा बदल्न सक्छन् तर फुटबल अन्ततः सामूहिक खेल नै हो भन्ने मानक यस विश्वकपले फेरि एक पटक प्रमाणित गर्यो। सन्तुलित र अनुशासित टोलीले व्यक्तिगत प्रतिभामा अत्याधिक निर्भर टोलीभन्दा प्रायः सधैँ राम्रो प्रदर्शन गर्छ। स्पेन त्यसको उत्कृष्ट उदाहरण बन्यो।

    अर्जेन्टीनाले देखाएको नकारात्मक शैली, अनावश्यक उग्र व्यवहार र खेल-भावना विपरीतका गतिविधिले उपाधिको हकदार टोलीको छवि प्रस्तुत गरेन। त्यसैले उनीहरूले उपाधि जित्न नसक्नू फुटबलका लागि सकारात्मक परिणाम नै रह्यो।

    यति हुँदा हुँदै पनि यस प्रतियोगितामा लियोनेल मेस्सीले दिएको योगदानका लागि उनलाई सम्मान दिनै पर्छ। सन् २०२२ मा ३५ वर्षको उमेरमा विश्वकप जितेपछि उनको अन्तर्राष्ट्रिय खेल यात्रा त्यहीँ समाप्त भएको ठानेका थिए। तर चार वर्षपछि ३९ वर्षको उमेरमा धेरै कमजोरी भएको अर्जेन्टीनालाई आफ्नो नेतृत्वमा पुनः फाइनलसम्म पुर्याए। अन्तिम नतिजा जे भए पनि महान् खेलाडी मध्ये एकको अर्को मेमोरेबल प्रदर्शनका रूपमा सधैँ सम्झनेछ।

  • कांस्य पदकको खेल

    एउटा द्विविधा। एकातिर अङ्ग्रेजहरूले फ्रान्स विरुद्ध गोलको वर्षा गर्दै जित हासिल गरेको छ। अर्कोतिर त्यो जित तेस्रो स्थानका लागि भएको खेलमा आयो जसलाई धेरै सञ्चार माध्यमले पहिल्यै अर्थ हीन घोषणा गरिसकेका थिए। मानौँ विश्वकप जितेन भने फुटबल खेल्नुको कुनै अर्थ नै छैन।

    वास्तविकता के हो भने प्रत्येक प्रतियोगितामा अन्ततः एउटा मात्र टोली विजेता बन्छ। “हामी जित्न योग्य थियौँ” भन्नु भनेको अप्रत्यक्ष रूपमा बाँकी सबै टोली हार्न योग्य थिए भन्ने पनि हो। त्यसैगरी कांस्य पदकको खेलको कुनै अर्थ छैन भन्नु भनेको फाइनल अघि नै बाहिरिएका सबै टोलीले प्रतियोगिता व्यर्थ खेले भन्ने जस्तै हो।

    यस खेलमा फ्रान्सले इङ्गल्यान्डलाई दोस्रो हाफमा निकै दबाबमा राखेको थियो। तर इङ्गल्यान्डले अर्जेन्टीना विरुद्धको खेलमा जस्तो अत्तालिएर बललाई जथाभाबी टाढा हान्ने रणनीति अपनाउनुको सट्टा यस पटक डिफेन्सबाट संयमित र योजनाबद्ध रूपमा खेल बनाउने प्रयास गर्यो। यही शैलीबाट इङ्गल्यान्डले दुई गोल गर्न पनि सफल भयो। यदि उनीहरूले डराएर हरेक पटक बल क्लियर मात्र गरेका भए सम्भवतः त्यो खेल पनि हार्ने थिए।

    इङ्गल्यान्डले ६० वर्षयताकै आफ्नो उत्कृष्ट विश्वकप नतिजा हासिल गरेको छ तर पनि प्रशिक्षक विरुद्धको आलोचना भने थामिएको छैन।

  • असफल ध्यान सेसन

    म यसपालि नियमित कामबाट केही बेर आराम पाइन्छ कि भनेर अफिसमा हुने साप्ताहिक मेडिटेशन सेसनमा सहभागी भएँ। त्यहाँ मेरो शरीरले आराम शब्दलाई अलि बढी नै शाब्दिक रूपमा बुझिदियो।

    बन्द आँखा, शरीर लडेर पूर्ण रूपमा आराममा अनि मधुरो स्वरमा ध्यानको निर्देशन – यस्तो अवस्थामा मेरो दिमाग जागा बस्नै जानेन। बरु ती सबै मिलेर एउटा अप्रत्याशित निद्राको उत्तम खुराक बने। अवस्था निकै अप्ठ्यारो र लाजमर्दो भयो।

    त्यसपछि एउटा कुरा महसुस भयो – शरीरले कुन बेला कस्तो प्रतिक्रिया दिन्छ भन्ने कुरा हामीले चाहेर पनि कन्ट्रोल गर्न सक्दैनौँ। ध्यानमा पूर्ण रूपमा उपस्थित भएर लिनुपर्ने फाइदा त मैले पक्कै गुमाएँ गुमाएँ, गुरुज्यू प्रति अनादर भएको नहोस् भन्ने मात्रै मन देखि आशा छ।

    मेरो एउटै आशा छ, अब अर्को पटक फेरि त्यो सेसनमा जाँदा त्यो कोठामा कसैले पनि म मेडिटेशन बीचमै निदाएको घटना नसम्झोस्!

  • गोटको बहस

    चार वर्षमा एक चोटि फुटबल हेर्ने सिजनल दर्शकहरूलाई मेस्सी र रोनाल्डो बीच को “गोट” हो भन्ने बहस रोमाञ्चक हुने रहेछ। मेस्सीका समर्थकले रोनाल्डोलाई होच्याउँछन् अनि रोनाल्डोका समर्थकले मेस्सीलाई। अर्जेन्टीना भर्सेस पोर्चुगल। उही बहस, हरेक चार वर्षमा, फेरि फेरि, विश्वकप चलुन्जेल। साँच्चै भन्नु पर्दा हरेक चोटी टाइमलाइन भरि यो कुराले वाक्क लाग्न थालेको छ।

    मैले मेस्सीको खेल खासै हेरेको छैन। कहिले कहीं च्याम्पियनस् लिग वा अन्तर्राष्ट्रिय फुटबल बाहेक स्पेनको ला लिगा, फ्रान्सको लिग वान र अहिले अमेरिकाको एमएलएस मध्ये कुनै पनि लिग नेपालमा नियमित प्रत्यक्ष प्रसारण हुँदैनन्। रोनाल्डोलाई भने म्यानचेस्टर युनाइटेडमा हुँदा खेल हेर्न पाइन्थ्यो। उनलाई पनि ला लिगा वा इटालीको सेरी आ मा हुँदा हेर्न पाईएन। अहिले उनी पनि साउदी लिगमा छन्। त्यो लिग आउंछ आउँदैन थाहा छैन।

    यद्यपि फुटबललाई साँच्चै माया गर्नेहरूले प्रतिद्वन्द्विता बुझ्छन्, घृणा होइन। तपाईं मेस्सीलाई समर्थन गर्नुस् वा रोनाल्डोलाई, दुवै अद्भुत खेलाडीहरू हुन्। यी बाहेक यो उमेरमा पनि मोड्रिचको खेल कति सुन्दर छ, एम्बाप्पेको गति कति भयङ्कर छ र केनको फिनिसिङ कति शान्त र सटीक छ। रोड्री, हालण्ड, क्यासिमिरो, ट्रोसार्डका खेलहरू पनि हेर्नुस। मेस्सी वा रोनाल्डोलाई हेट गर्न समय खर्चिनु भन्दा यी सबैको खेल हेरेर आनन्द लिनु धेरै राम्रो।

    फुटबल रमाइलोका लागि हो, घृणा फैलाउनको लागि होइन। “गोट” को हो भन्ने अल्छी लाग्दो बहस अब छोडौँ।